काठमाडौं । मनाङमा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिकको शव फेला परेको छ।
कात्तिक ३ गतेदेखि हराइरहेका ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो २ बजे फेला पारेको हो। सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनीहरुको शव हिउँले पुरिएको अवस्थामा भेटिएको हो। उनीहरू बाबु छोरी थिए।
मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिंडेका उनीहरु सम्पर्कविहीन भएका थिए। उनीहरु सम्पर्क विहीन भएपछि उक्त होटलले खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो।
सम्पर्कविहिन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजीकार्य गरिरहेकोमा नभेटिएपछि पुन कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसीको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरुको शव उक्त गुम्बाबाट करीब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो। शव घटनास्थलबाट तल ल्याइँदै गरिएको डिएसपी थापाले जानकारी दिए।