काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा उनले पछिल्लो समय लगानी बढाउन नसकेको अवस्थामा भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल थप कमजोर भएको बताए ।
उनले भने, ‘विगत एक दुई वर्षदेखि नै पैसा भए पनि लगानी विस्तार नभएको अवस्था थियो, हामीले ठूलो लगानी ल्याउन सकेका थिएनौँ, यस्तो अवस्थामा जेनजी आन्दोलन भएपछि यसले थप समस्यामा पारेको छ ।’
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा घुसपैठ भएकाले निजी र सरकारी संरचनामा आक्रमण भएको धारणा राखे । उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि घुसपैठ भएकाले आन्दोलन हिंसात्मक भएको दाबी गरे ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले दलहरूले व्यक्तिमुखीभन्दा पनि प्रणालीमुखी सुधारतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘जेनजी आन्दोलनले देखाएको असन्तुष्टिलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिनुपर्छ, हामीले व्यक्तिमा होइन, प्रणालीमा सुधार ल्याउन जरुरी छ ।’