काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स ९यूएई०मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले १०० रन पूरा गरेका छन् ।
बिहीबार यूएईको दुबईमा जारी खेलमा टस जितेर ब्याटिङ गर्ने आफ्नो निर्णयलाई सही बनाउने प्रयासमा रहेका रोहितले ४७ औँ ओभरमा शतक पूरा गरेको हुन् । यसक्रममा उनले १२६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् । यसअघि, रोहितले सन् २०२२ को मार्चमा त्रिवि क्रिकेट मैदानमै सम्पन्न पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए । उनले पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट कुनै पनि ब्याटरले बनाएको व्यक्तिगत उच्च स्कोरसमेत हो ।
जारी खेलको ४७ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर २०७ रन बनाएको छ । क्रिजमा रोहितसँगै रहेका सोमपाल कामी ६ रनमा खेलिरहेका छन्।शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा छ । नेपाल यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले पराजित भएको थियो ।