धनुषा । मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ।
जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले गत वर्षजस्तै यो वर्ष पनि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए।
उनले घाटको सरसफाइ र सजावटका साथै व्यवस्थापन पनि विगतभन्दा राम्रो बनाइएको जानकारी दिए। गुप्ताका अनुसार यो वर्ष प्रतिअर्घ रु ६०० सहयोगस्वरूप निर्धारण गरिएको छ। सबैले सहयोग नदिए पनि अर्घ राख्ने गरेका छन् र प्रत्येक वर्ष सहयोगबाटै व्यवस्थापन खर्च निस्किरहेको उनको भनाइ छ।
गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा छ भने झिलिमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीनवटा समितिले सजावटको काम गरिरहेका छन्।
यस्तै, अरगजा सरमा छठको घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि नै आफूहरू तयारीमा जुटिसकेको बताए।