बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवा, रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
ढकाललाई कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरूले आपसी मिलेमतोमा तथा योजनामा भारतबाट रुपन्देहीको दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।