काठमाडौं । जेन-जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र दर्ता गराएका छन् ।
जेन-जीका १० भन्दा बढी समूहको जेन-जी मुभमेन्ट अलायन्सले मङ्गलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दबाब पत्र दर्ता गराएका हुन् । युवाहरूको दबाबपछि अख्तियारले उक्त पत्र दर्ता गरेको छ । अख्तियार प्रमुख आयुक्त राईका कार्यहरू राजनीतिक पक्षपाती रहेको र वाइडबडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा राईको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरिएको जेन-जी युवा रिजन राना मगरले बताए । उनले राईलगायत अन्य सबै आयुक्तहरूको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको बताए ।
देशको भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहीनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको मगरले बताए । युवाहरूले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।