काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान् महाशाखाले आज देखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रका नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ ।
महाशाखाका बाढीविद् विनोद पराजुलीले आज दिउँसोदेखि सबै प्रमुख नदीहरूमा पानीको बहाव बढ्न सुरु हुने जानकारी दिए ।
आज राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
यस्तै भोली बिहानदेखि बेलुकासम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्नेछ ।
भोली रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने पराजुलीले जानकारी दिए ।