काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक सेवा प्रवाह र शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार एक विज्ञप्तिमार्फत आयोगले चाडपर्वमा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउन निर्देशन दिएको हो ।
“सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने सम्भावना रहने हुँदा चाडपर्वको समयमा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ,” विज्ञप्तिमा आयोगले भनेको छ ।
आयोगले सेवा प्रवाहलाई चुस्त बनाउने र शान्तिसुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न पनि सबै पक्षलाई आयोगले आग्रह गरेको छ । आयोगका कार्यालयहरू दसैँ, दीपावली तथा छठ पर्वका बिदाका दिनहरूमा पनि खुला रहने विज्ञप्तिमा उल्लेख छ ।
मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ । मानव अधिकार उल्लंघनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयमा तत्काल जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।