काठमाडौँ । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५० रिट्र्याक्टेबल बार सडकमा राख्न शुरू गरेको छ ।
सडक च्यानलाइजेसनमार्फत् दुर्घटना र जाम न्यूनीकरण गर्ने लक्ष्य, ट्राफिक व्यवस्थापनमा महानगर, ट्राफिक प्रहरी र सरोकारवालाबीच सहकार्यमा कामपाले उक्त कार्य शुरू गरेको जानकारी दिएको छ । कामपा सहरी योजना आयोगका सहायक विज्ञ अनुकुल निधिका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नै यी सामग्री खरिद गर्ने योजना भए तापनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा कामपाको रहेको छ ।
विज्ञ निधिका अनुसार ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ ।
यी कोनहरू तल प्वालरहित र तीनदेखि पाँच केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिको भनाइ छ । यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा दुई मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी एक हजार २५० सेट खरिद भएका छन्, जसमा कूल २५ सय कोन र एक हजार २५० बार रहेको बताइएको छ ।
उक्त सामग्री मुख्य सडकखण्डमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार ९खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति० लाई सम्बोधन गर्न सक्ने बताइएको छ ।