काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । हिजो २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ २५८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारणमध्ये एक विश्वबजारमै सुनको मूल्य बढ्नु हो । त्यसैगरी, नेपालले सुन आयात गर्ने क्रममा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्छ । डलर बलियो हुँदा रुपैयाँ कमजोर हुन्छ, जसको सीधा असर सुनको मूल्यमा पर्छ । पछिल्ला वर्षहरूमा रुपैयाँ कमजोर बन्दै गएकाले आयातित सुनको मूल्य बढेको हो ।
अमेरिकी सरकारले विभिन्न देशलाई लगाएको ट्यारिफ वा व्यापार युद्धले गर्दा पनि नेपालमा त्यसको प्रभाव पर्न गई सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।