काठमाडौँ । गएको भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भौतिक संरचनामा पुगेको क्षतिको अहिलेसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको बीमा दावी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ ।
नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ ।
बीमा गरेका गाडी तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्वन्धित निकायमा प्रक्रियाअघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ । वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको सङ्घले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याँकन गरी, क्षति विवरणको आधारमा दावी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बीमा कम्पनीमा बुझाइ दावी प्रक्रिया सहज बनाउन अपिल गरेका छन् । साथै, बीमा कम्पनीले पनि दावी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए।