काठमाडौँ । लगानीकर्ताहरू आत्तिएपछि सेयर बजारमा बिहीबार केही मिनेटमै तेस्रो पटक सर्किट ब्रेक लागेको छ। नेप्से एक सय ६० अंक पाँच प्रतिशतले घटेर नेप्से २५११ विन्दुमा आएको छ। बजारमा सात अर्ब २८ करोड रूपैयाँको सेयर किनबेच भएको छ। बजारमा जम्मा सात मिनेट मात्रै कारोबार हुन पायो।
सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो। २० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो। यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो।
बजार पहिलो एक घण्टा चार प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगन हुन्छ। त्यस्तै, दुई घण्टा भित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेटको लागि र तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनको कारण भएको क्षतिले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा भार पर्न सक्ने आकलन गरिँदै आएको छ। बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेश गरेको तथ्यांक अनुसार २० अर्ब रूपैयाँ बराबरको दाबी परेको छ।