काठमाडौँ । दार्चुलाको लेकम गाउँपालिका– ३ लालीका उत्तमसिंह थापाको परिवार सहाराविहीन बनेको छ । जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीको डीएसपी हो भन्दै सडकमा मरणासन्न हुने गरी कुटपिट गर्दा प्रहरी जवान थापाको मृत्यु भएपछि अहिले उनको परिवार सहाराविहीन बनेको छ ।
नौ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थापाले झण्डै आठ वर्षअघि बुवा हरिसिंह गुमाएका थिए । भाइ महेशको पनि नौ महिनाअघि लालीमै भिरबाट लडेर मृत्यु भएपछि उनी आफ्नो परिवारको एक्लो सहारा थिए । नौ महिनाअघि महेश र अहिले उनका दाइ उत्तमको मृत्युले सिङ्गो लाली क्षेत्र र दार्चुला जिल्ला नै शोकमा डुबेको छ । अब उनको परिवारमा ५७ वर्षीया आमा निर्मला र श्रीमती पुष्पा छिन् ।
थापाको अन्त्येष्टि पशुपतिघाटमा गरेपछि अहिले उनका काका रूपसिंह थापा कञ्चनपुरको महेन्द्रनगरमा किरिया बसेका छन् । उनकी श्रीमती पुष्पा पनि त्यतै छन् । आमा निर्मला भने लालीमै छिन् । पुत्रवियोगको पीडा भुलाउन आफन्तले सम्झाउने प्रयास गरिरहेका छन् । तर, त्यो सम्भवन भइरहेको छैन ।