काठमाडौँ । सिंहदरबारसहित देशभरका धेरै प्रशासनिक भवनहरु ध्वस्त भएका छन् । पुनःनिर्माणका लागि अर्बौ रकम आवश्यक पर्छ । राष्ट्रिय सम्पति जलिरहेको बेला धेरै नेपालीको मन रोइरहेको छ ।
अब यसको लागि कसरी आर्थिक श्रोट जुटाउने कसैले केही सोच्नसकेको छैन । यस्तो कठिन परिस्थितिमा सोमबार अर्घाखाँचीको ग्रामीण क्षेत्रमा खेतीकिसानीमा रमाइरहेका एक मनकारीले एक लाख एक सय रकम सिंहदरबार पुनःनिर्माणका लागि सहयोग गरेर चर्चामा आएका छन् ।
‘फेरि यस्तो नहोस्, म बनाउँछु र्सिहदरबार, म बनाउँछु मेरो देश’ भन्ने नारासहितको ब्यानर लिएर अधिकारी जिल्ला प्रशासनमा पुगेर आफूले त्यो रकम बुझाएका हुन् । अर्घखाँचीको शितगंगा नगरपालिका वडानम्बर २, सितापुरका तुल्सीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १ लाख १०० रुपैयाँ जम्मा गरेको भौचर सोमबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
‘सिंहदरवार जलेपछि मलाई निद्रा लागेन, यो पैसाले सिंहदरवार बनाउन थोरै भएपनि साथ दिनेछ, ‘म बनाउँछु मेरो सिंहदरबारु भन्ने अठोट सबैले लिनुपर्दछ र साथ दिनुपर्दछ’ किसान अधिकारी भन्छन् ‘मेरो आस्था जलेको छ, मेरो घर जल्दा फर पदैनथ्यो होला, बरु यति धेरै पिर पर्दैनथ्योहोला,म पनि नेपाली नागरिक भएको नाताले अब यो अभियान चलाउनुपर्दछ भन्ने लाग्यो । कतै प्रचार गर्न विज्ञापन गर्न होइन आत्मशान्ति गर्न हो । भाइरल बन्न होइन । श्रद्धाले दिएको हो । सानो चेतनाको लागि हो ।’
