काठमाडौं । जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाएका ३० जनाको शव पोस्टमार्टम भइसकेको छ । तीमध्ये २७ जनाको शव परिवारले बुझेका छन् । २३ र २४ भदौको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा छ ।
प्रहरीको तथ्यांकअनुसार प्रदर्शनको क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ । फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ ।
सरकारले जेन-जी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन् ।यस्तै सरकारले मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख दिने घोषणा गरेको छ ।