काठमाडौं । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने भएकी छन् । योसँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ ।
तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाम प्रस्ताव गरेका थिए ।
प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श थालेका थिए । अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफलमा जुटेका छन् ।