काठमाडौँ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ ।
शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु(शिष्य लगायत दिवङ्गत आफन्त सबैलाई यस अवधिमा तर्पण, पिण्ड दान र जल अर्पण गर्ने चलन छ । कुशे औँसीदेखि नै पितृ आत्मा घर–आँगन वरपर आइपुगेर सन्तानको श्राद्ध प्रतीक्षा गरिरहेको विश्वास गरिन्छ ।
कसको श्राद्ध कुन तिथिमा गर्ने भन्ने कुरा पनि शास्त्रमा स्पष्ट गरिएको छ । कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा श्राद्ध गरिन्छ भने आमा वा स्त्रीहरूको श्राद्ध गर्न आश्विन कृष्ण नवमीलाई अर्थात मातृ नवमीलाई उत्तम मानिन्छ । परिवारका पुर्खा वा बुबाले संन्यास लिएको अवस्थामा एकादशी वा द्वादशीमा श्राद्ध गर्ने प्रचलन छ । दुर्घटना, डुबान, आगो, विष, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गर्नुपर्छ । आफ्ना पितृको तिथि थाहा नभए औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास गरिन्छ ।
व्यक्तिगत वा सामाजिक कारणले समयमा श्राद्ध गर्न नसकिए दीपावलीको औँसी, अथवा मङ्सिर भित्रै वैकल्पिक तिथि रोजेर गर्न सकिने धार्मिक ग्रन्थमा उल्लेख छ । तर पितृलाई प्रसन्न गराउन आश्विन कृष्णपक्षमै श्राद्ध गर्न सर्वोत्तम मानिन्छ ।
शास्त्रअनुसार, महालय श्राद्ध गर्ने सन्तानले आयु, आरोग्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्ने विश्वास छ । सोह्र श्राद्ध सकिए लगत्तै दुर्गा पक्ष, दसैँ र तिहार जस्ता पर्व आउने भएकाले पहिले पितृको आशीर्वाद लिएर मात्र देव पूजा गर्नुपर्छ भन्ने परम्परा छ ।