काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले छाप्ने भनेको ३० लाखप्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पनि ढिलाइ हुने भएको छ । असार मसान्तदेखि छाप्ने भनेर यातायात व्यवस्था विभाग र केन्द्रबिच जेठमा सम्झौता भए पनि अहिलेसम्म छपाइ सुरु भएको छैन । केन्द्रले छाप्ने समय असारबाट असोज १ गते पु¥याएको छ ।
असार मसान्तमा नमुना प्रिन्ट गरेर विभागलाई दिए पनि नमुना पास भएको छैन । छलफलमै रहेको विभागले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भने, “लाइसेन्सको नमुना प्रिन्ट गरेर दिएका छौँ । नियमित छपाइ भने असोज १ गतेदेखि गर्ने तयारीमा छौँ । त्यसपछि छपाइको काम निरन्तर हुन्छ ।”
सम्झौता अनुसार यातायात व्यवस्था विभागमा बर्सौंदेखि छाप्न बाँकी रहेका ३० लाख लाइसेन्स केन्द्रले छाप्ने हो । केन्द्रले सेक्युरिटी प्रिन्टरले छाप्ने तयारी गरेको छ । निर्देशक ढुङ्गानाका अनुसार केन्द्रले दैनिक तीन हजार प्रति छाप्ने छ । महिनामा एक लाखप्रति छपाइ हुने छ । विभागले हाल अत्यावश्यक मात्र छपाइ गर्दै आएको छ । ३० लाख प्रति लाइसेन्स केन्द्रले छाप्ने र नियमित लाइसेन्स प्रदेश सरकारबाट छपाइ हुने भएकाले विभागले थप पहल नगरेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिए ।
२०७२ सालदेखि लागु भएको स्मार्ट लाइसेन्स लागु भएदेखि छाप्ने काम बाँकी रहँदै आएको थियो । समस्या समाधानका लागि गत भदौमा कर तिरेको रसिदमै क्युआर कोड र फोटो राखिने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।
लाइसेन्सलाई नागरिक एपमा संलग्न गरी छुट्टै कार्ड प्रिन्ट नगर्ने व्यवस्था पनि गरिएको थियो तर त्यो पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विभागले जनाएको छ । बागमती प्रदेश सरकारले काठमाडौँका यातायात कार्यालयबाट लाइसेन्स छाप्नका लागि मेसिन खरिद गरिसकेको छ । यातायात सेवा कार्यालय एकान्तकुनाका अनुसार उपत्यकामा तीन वटा मेसिन आएका छन् ।
यातायात कार्यालय गुर्जुधारा, भक्तपुर र एकान्तकुना कार्यालयबाट छपाइ गर्ने गरी तयारी भएको छ । प्रदेश सरकारले दसैँलगत्तै लाइसेन्स छापेर वितरण गर्ने तयारी गरेको एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले बताए । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले चितवन, हेटौँडा र काठमाडौँ उपत्यका गरी पाँच स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको छ ।