काठमाडौँ । नेपाल प्रहरीमा १९ भदौदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) का चार पद रिक्त हुने भएका छन् । सरकारले एआईजी चन्द्रकुबेर खापुङलाई आगामी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरिसकेको छ।नेपाल प्रहरीको ३२औं आईजीपी चन्द्रकुबेर खापुङले बिहीबारदेखि कार्यभार सम्हाल्दैछन् । सोही दिनदेखि उनले सम्हालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व पनि खाली हुनेछ ।
त्यसअघि नै आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिका कारण १८ भदौको राति १२ बजेदेखि अवकाशमा जानेछन्। उनीसँगै ब्याचका एआईजी सुदिप गिरि र टेकबहादुर तामाङ पनि अवकाश हुनेछन्। अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल शनिबारदेखि अवकाशमा गइसकेका छन् ।
यसरी खापुङ, गिरि, तामाङ र शर्माको अवकाशसँगै चार एआईजी पद खाली हुने भएका छन्। ती पदका लागि नौ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ। प्रतिस्पर्धामा रहेका डीआईजीहरूमा सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन्। अहिले उनिहरु नेताहरुमार्फत नै बढुवाका लागि लबिइङमा छन्।
डीआईजी राठौर हाल प्रहरीको प्रबन्ध महाशाखाको प्रमुख छन् भने चतुर्वेदी हाल मधेस प्रदेशको प्रहरी प्रमुख छन् । यस्तै श्रेष्ठ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । बिक सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् । कार्की कोशी प्रदेशमा कार्यरत छन् भने आर्चाय हाल गण्डकी प्रदेशको प्रहरी प्रमुख छन् । यस्तै पौडेल हाल बागमति प्रदेशको प्रमुख छन् । थपलिया भने बढुवाभन्दा मधेस वा लुम्बिनी प्रदेशमा जाने रणनीतिमा छन्।आगामी १९ भदौपछि बस्ने मन्त्रिपरिषद्को बैठकले नौ डीआईजीमध्ये चार जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ ।