काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ। महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउदै यस्तो अल्टिमेटम दिएको हो।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल अवरूद्ध अनलाइन दर्ता र नविकरण सुचारु नभए महासंघ आन्दोलनमा उत्रने उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन संचारमाध्यमलाई परेको असहजता अन्त्य गर्न संक्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए। मन्त्रालयकी सचिव राधिका अर्यालले पनि संचारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताए।