काठमाडौँ । काठमाडौँमा सम्पन्न नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचनबाट फुरगेल्जे शेर्पा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्।
आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले तीन सय ४२ मत ल्याए भने गुरुङले दुई सय ८८ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित भएका हुन्। सचिवमा चन्दन थापा विजयी भए भने कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरे ।
त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।