जनकपुरधाम । नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको जग्गा विवाद अन्ततः समाधान भएको छ।
बुधबार दुबै संस्थाले बिवाद समाधानकोलागि एक सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बिवाद समाधान भएको हो ।
यो मिलापत्रअनुसार, जनकपुरधामस्थित गुठी संस्थानबाट लिजमा लिइएको जग्गा अब दुवै संस्थाले बाँडफाँट गरेर प्रयोग गर्नेछन्। जनकपुर बारले आफना सदस्यहरुको सवारी साधन पार्किङलागि सव लिज अन्र्तगत भाडामा जमिन प्रयोग गर्ने सहमती भएको छ।
बाटो बाहेक ४१ फिट चौडाई र ९० फिट लम्बाई भएको क्षेत्रफलको जग्गा बारले पार्किङकालागि उपयोग गर्ने छ । नेपाल पत्रकार महासंघले गुठी संस्थानबाट वार्षिक ३ लाख १ हजार रुपैया भाडा तिर्नेगरि लिएको सो जग्गाको जनकपुरवारले उपयोग गर्ने जग्गाको अनुपातमा भाडा बुझाउने गरी सहमति भएको बताइएको छ ।
बाँकी भागमा पत्रकार महासंघले आफ्नो बहुउद्देश्यीय भवन निर्माण गर्नेछ। मिलापत्रमा पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा र नेपाल बार एसोसिएसन, जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रले हस्ताक्षर गरेका छन।
दुवै पक्षले यसअघि भएको विवादका घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। सहमतिसँगै दुवै पक्षले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध आलोचनात्मक पोस्ट नगर्ने प्रतिबद्धता जनाएका छन्। साथै, दुई दिनभित्र एकअर्काविरुद्धका सबै कानुनी कारबाही फिर्ता लिने वा निष्क्रिय बनाउने समझदारी पनि भएको छ।
यो समझ्दारी अनुसार जकपुर बारले उच्च अदालत जनकपुरमा दायर गरेको रिट फिर्ता लिने र नेपाल पत्रकार महासंघले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी फिर्ता लिने छन । यो सहमतिलाई सम्भव बनाउन दुवै संस्थाले गठन गरेका उच्चस्तरीय वार्ता समितिको भूमिका महत्त्वपूर्ण रह्यो। नेपाल पत्रकार महासंघले केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछानेको संयोजकत्वमा रहेको मिशन टोलीलाई नै वार्ताको सहजीकरणकालागि जिम्मेवारी दिएको थियो ।