काठमाडौँ । जनकपुरधाममा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई कारबाहीको माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि धर्ना दिएका छन् । गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको जग्गामा तारबार गर्ने क्रममा गत साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको समूहले पत्रकारमाथि आक्रमण गरेका थिए ।
उक्त घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बनजारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय, अनिल निराला लगायतघाइते भएका थिए ।
घटनापछि साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा ६ जना वकिलविरुद्ध किटानी जाहेरी दिए पनि अहिलेसम्म कुनै कारबाही नगरेको भन्दै पत्रकार महासंघ धनुषाले धर्ना आयोजना गरेको हो ।