काठमाडौं । काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी मःम पसलको म:ममा औंठी भेटिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त पसलले बिक्री–वितरणका लागि तयार गरेको मःममा धातुको औंठी फेला परेको जनाएको छ । त्यसपछि महानगरले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको पाइएपछि २ लाख रूपैयाँ जरिवाना तोकिएको छ ।
काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी मःमले पटक–पटक महानगरको निर्देशन उल्लंघन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको बताएका छन् ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको न्यौपानेले बताए । महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैंकमार्फत् जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।