काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्य नजर गरी प्रारम्भ देखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागार कार्यालय रुपन्देहीले जनाएको छ ।
बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै विगत चार महिना देखि सहकारी ठगी तथा संगठीत अपराध मुद्दामा थुनुवाको रुपमा रहेका लामिछानेलाई छुट्टै कोठामा राखेर छुट्टै शौचालयको समेत व्यवस्था गरिएको कारागार कार्यालयले जनाएको छ ।
‘कोठाको झ्यालमा साविकमा रहेको प्लाइउड हटाई जाली राखि सकिएको छ । निजलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ ।’ कारागार प्रशासक सुरेश भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कारागार प्रशासनले बिरामी बन्दीहरुको स्थानीय अस्पताल र आवश्यकता अनुसार चिकित्सकको सिफारिसमा स्थानान्तरण समेत गरी थप उपचार गर्ने प्रबन्ध मिलाउँदै आएको जनाएको छ ।
‘सबै बन्दीहरु बिच मेलमिलाप कायम गरी शान्ति सुरक्षा र मानव अधिकार मैत्री वातावरण सृजना गर्न यस कारागार कार्यालय प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । कारागार भित्रका समाचार प्रकाशन गर्दा यस कार्यालयसँग आधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू प्रकाशन गरिदिनु हुन कारागार कार्यालय सम्बन्धित सबैमा अनुरोध गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ।
