काठमाडौं । जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको घटना प्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण गरेको छ ।
महासंघका महासचिव राम प्रसाद दाहालद्वारा हस्ताक्षर विज्ञप्तिमा गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोज्नु शोभनीय बिषय नरहेको बताएको छ ।
महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्न नदिने अडान लिएको छ ।
