काठमाडौँ । बनियाँटार युवा समाज काठमाडौँले प्रोजेक्ट शक्ति आयोजना मार्फत विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । २०१७ सालमा स्थापना भई विभिन्न सामाजिक कार्य गर्दै आइरहेको सो समाजले प्रोजेक्ट शक्ति मार्फत शक्ति दौड, शक्ति संवाद र शक्ति जागरण कार्यक्रमको आयोजना गर्न लागेको हो ।
विशेष गरी बाल यौन दुर्व्यवहारको बढ्दो घटनालाई रोक्न, समुदायमा चेतना फैलाउन, शिक्षक, अभिभावक र सम्पूर्ण समुदायलाई सचेत बनाउन तथा बालबालिका र युवाहरूलाई आत्मरक्षा सिकाउने उद्देश्यले प्रोजेक्ट शक्ति अन्तर्गत ती कार्यक्रमहरू गर्न लागेको बनियाँटार युवा समाजका अध्यक्ष राम कुमार बानियाँले जानकारी दिए ।
प्रोजेक्ट शक्ति परियोजनाका मुख्य कार्यक्रमहरू अन्तर्गत भदौ ७ गते टोखाका विद्यालय, स्थानीय क्लब र अस्पतालहरूको सहभागितामा शक्ति दौड कार्यक्रमको आयोजना गरिनेछ । जसमा एक हजार युवायुवतीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
यस्तै शक्ति संवाद कार्यक्रम, शक्ति जागरण लगायतका कार्यक्रम गरिने बनियाँटार युवा समाज अध्यक्ष बानियाले जानकारी दिए । उनका अनुसार शक्ति संवाद कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षक र अभिभावकसँग अन्तरक्रिया कार्यक्रम हुनेछ, जसमा बाल यौन दुर्व्यवहारका सङ्केत, प्रतिकारका उपाय, रिपोर्ट गर्ने तरिका र खुला संवादको संस्कार बारे प्रशिक्षण दिइनेछ। यो कार्यक्रम वडा नं. ८ को सामुदायिक विद्यालयबाट सुरु हुनेछ र क्रमशः सम्पूर्ण टोखा नगरपालिकामा विस्तार गरिने अध्यक्ष बानियाँले जानकारी दिए ।
यस्तै शक्ति जागरणले टोखाका विद्यार्थी (विशेष गरी बालिका) लाई १५ दिनको आत्मरक्षा तालिम दिने जनाएको छ । सो परियोजनालाई साथ दिन टोखा नगरपालिका वडा नम्बर ८ ले साथ दिएको छ । मङ्गलवार प्रोजेक्ट शक्तिलाई संयुक्त रुपमा आयोजना गर्ने गरी सम्झौता भएको हो । सो सम्झौतामा बनियाँटार युवा समाजका अध्यक्ष बानियाँ र टोखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश खत्रीले हस्ताक्षर गरेका हुन् ।

