धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा झडपमा परि ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख दिने निर्णय गरेको छ । आईतबार बेलुकी बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मृतकका परिवारलाई पाँच लाख दिने निर्णय गरेको को ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विज्ञप्ती जारी गर्दै झडपमा परि ज्यान गुमाएका धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको परिवारलाई पाँच लाख दिने निर्णय गरेको जनाएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले काठमाण्डौंबाट फर्के लगत्तै आईतबार बेलुकी प्रदेश मन्त्रीपरिषद र सुरक्षा अधिकारीहरुको बैठक पनि बोलाएका थिए । प्रदेश सरकारले कारागार लगायतका समग्र आन्तरिक सुरक्षा लगायतका विषयमा समन्वयकारी भूमिका निर्वाह गर्ने सन्दर्भमा मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आइतबार बसेको प्रदेश सुरक्षा समितिको बैठक घाइतेहरुको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
घाइते ४९ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । सृुरक्षा समितिको बैठकले। कारागारभित्र हेलोजन लाइट, सिसि क्यामरा जडान गर्ने र कारागारको छाना लगायतको आवश्यक मर्मत सम्भारका कार्य आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्काल शुरु गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश सुरक्षा समितिका सदस्यसचिव तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव आमोद दाहालका अनुसार कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरु व्यवस्थापन गर्ने, कारागारमा देखिएका सुरक्षा व्यवस्थापन सम्बन्धमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।