काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज बिहानको मापन अनुसार कर्णाली, महाकाली र बबई नदीहरू को बहाव सतर्कता आसपास रहेको र कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र कन्काई नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बुधबार कैलाली, कञ्चनपुर, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ । त्यस्तै दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसैगरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, रामेछाप, सोलुखुम्बु, भोजपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु,खोटाङ, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।