काठमाडौं । देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, आइतबारसम्म देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म ९६.४७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष अधिकांश प्रदेशमा अघिल्लो वर्षको तुलनामा रोपाइँ कम भएको तथ्यांक छ । मनुसन चाँडै भित्रिए पनि समयमै पानी नपर्दा देशभर राम्रोसँग रोपाइँ हुन पाएको छैन ।
मन्त्रालयका अनुसार, कोसी प्रदेशमा साउन १८ सम्म ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कुल दुई लाख ७६ हजार ३८६.७३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये दुई लाख ४६ हजार ६५.४४ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्षको साउन २० सम्म कोसीमा प्रदेशमा ९५ प्रतिशत रोपाइँ भएको थियो ।
मधेस प्रदेशमा साउन १८ सम्म जम्मा ५७.२८ प्रतिशत रोपाइँ भएको छ । कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमध्ये दुई लाख १३ हजार ४३८.९५ हेक्टरमा रोपाइँ सकिएको छ । अघिल्लो वर्ष साउन २० सम्म मधेसमा ९५.२८ प्रतिशत रोपाइँ भएको थियो ।
वाग्मती प्रदेशमा यस वर्ष ९२.९२ प्रतिशत रोपाइँ भएको छ । कुल एक लाख १५ हजार ६२१.२५ हेक्टर क्षेत्रफलमध्ये एक लाख सात हजार ४३४.२७ हेक्टरमा रोपाइँ भएको तथ्यांक छ । अघिल्लो वर्ष साउन २० सम्म वाग्मतीमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।
गण्डकी प्रदेशमा यस वर्ष ८८.९७ प्रतिशत रोपाइँ भएको छ । कुल ९४ हजार १८२ हेक्टर क्षेत्रफलमध्ये ८३ हजार ७९४.२ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष गण्डकी प्रदेशमा साउन २० सम्म ९६ प्रतिशत रोपाइँ भएको थियो ।
लुम्बिनी प्रदेशमा यस वर्ष ९५.९६ प्रतिशत रोपाइँ भएको छ । कुल तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ९९ हजार ७०८ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म उक्त प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।
कर्णाली प्रदेशमा यस वर्ष ९६.४७ प्रतिशत रोपाइँ भएको छ । कुल ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ५९४.९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष ९९.७२ प्रतिशत रोपाइँ भएको छ । कुल एक लाख ७६ हजार १५१ हेक्टर क्षेत्रफलमध्ये एक लाख ५७ हजार ६५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष साउन २० सम्म सतप्रतिशत रोपाइँ भएको थियो ।
देशभर यस वर्ष कुल १३ लाख ७८ हजार ९६६.९८ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये ११ लाख ५६ हजार ६८७.८ हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ८३.८८ प्रतिशत हो । अघिल्लो वर्ष साउन २० सम्मको तथ्यांकअनुसार देशभर ९६.४७ प्रतिशत रोपाइँ भएको तथ्यांक छ ।