काठमाडौं । वर्षासँगै देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आइतबार (साउन १८) इलाम, झापा, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, प्युठान, रुकुम पश्चिम, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, जाजरकोट र कैलालीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च’ सम्भावना रहने औँल्याइएको छ ।
यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, पर्वत, बागलुङ, म्याग्दी, अछाम, डडेलधुरा, दार्चुला र कञ्चनपुर भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको अनुमान छ ।
यस दिन बिहानको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

