काठमाडौँ । लामो समयदेखिको खडेरीले आहत भएका देशभरका किसानमा पानी पर्न थालेसँगै रोपो जाग्ने आशा पलाएको छ। यो साता सोमबार यता लगातार हल्का भएपनि पानी परेपछि उनीहरुमा रोपो जाग्ने आश बढेको हो।
पछिल्लो पटक अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ। यसअघि इनार, बोरिङ्गर स्यालोट्युवबेलबाट पम्पसेट लगाएर रोपेको धान अब भने जाग्ने आश बढेको किसानले बताएका छन् ।
पछिल्ला तीन दिन परेको पानीले थप रोपाइँ नबढे पनि यसअघि रोपिएको धानलाई भने निकै राहत मिलेको किसानको भनाइ छ। प्रचण्ड रापले पहेँलिँदै गएको रोपो पछिल्ला वर्षाले निकै फेरिएको बर्दिबास–७ प्रेमनगरका किसान रामउद्गार महतोले बताए।
पछिल्लो वर्षाले धानको रोपोसँगै उखु, सागसब्जी, मकै र कोदोसहितका बालीलाई चिस्यान मिलेको भङ्गाहा–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनको पनि भनाइ छ। ‘लामो रौदी (खडेरी) ले उखुका टुप्पा खङरङ्ग सुक्दै गएका थिए, पछिल्लो वर्षाले राम्रो चिस्यान भएपछि जादुजस्तै भएको छ, उखुका बोट फेरिँदै छन्।’ उनले भने।
यसपालि लामो खडेरीले गर्दा महोत्तरीमा धान रोपाइँ निकै पछि सरेको छ। जिल्लाको कूल धानखेतीयोग्य जग्गा ४२ हजार ५०० हेक्टर मानिन्छ। तर साउन तेस्रो साता सुरू भइसक्दासम्म जिल्लामा ३५ प्रतिशत रोपाइँ नकटेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ। रोपाइँ थप बढाउने गरी पानी पर्न नसके पनि पछिल्लो वर्षाले यसअघिको रोपोलाई भने निकै राहत दिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादवले बताए।