काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो।
वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।
हिन्दू र बौद्ध धर्ममा सर्पलाई पवित्र मानिन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन नागको विशेष पूजा हुन्छ । भगवान् विष्णु शेषनागको शैयामा सुत्ने र भगवान् शिवले नागमाला लगाउने पौराणिक आख्यान छ । साथै समुद्र मन्थन गर्दा वासुकीनागको नेती बनाइएको कथा पनि पुराणहरूमा पाइन्छ ।
नागपञ्चमी मनाएर सर्पको पूजा गर्नुको अर्थ सर्पले हामीलाई फाइदा गर्छ भनेर मानेको हो । दुष्ट काम नलाग्ने भएको भए त्यसको पूजा गरिँदैन थियो । सर्पहरू हामीलाई काम लाग्ने मित्र हुन यिनीहरू पूजनीय हुन, यिनीहरूलाई हामीले जोगाउनुपर्छ भनेर पूजा गर्न थालिएको हो ।
हिन्दू र बौद्ध दुवै धर्ममा सर्पसँग जोडिएका धेरै कथाहरू छन् र सर्पको धेरै महत्त्व भएको चर्चा गरिएको छ । प्रकृतिमा सर्पको विशेष महत्त्व रहेको आधुनिक वैज्ञानिकहरूले औँल्याएका छन् ।