चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ ।
भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गएको आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।
महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकामा १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी सात करोड ३४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।
यस्तै बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये छ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा तीन करोड २० लाख फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ ।
सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि पाँच करोड रुपौयँ विनियोजन गरेको थियो । यो रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिए ।
हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले २०८१ सालको असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ सालको पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।