काठमाडौं । तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।
सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन् । उनीविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ ।
पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।
गतसाता विशेष अदालतले वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित कामकारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको र मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनी न्यायिक टिप्पणी गरेको थियो ।