काठमाडौँ । धरानका मेयर हर्क साम्पाङलाई खानेपानी मन्त्री प्रदीप यादवले सरकारले दिएको अनुदान नलिने हो भने एडिबीको सहयोमा बनेको रोडमा किन हिँडेको भन्दै प्रश्न गरेका छन् ।
बिहीबार बागमती प्रदेशको महालक्ष्मी नगरपालिका वडा नम्बर १ बाल उधान पार्कमा निर्माण भईहेको डीप बोर्डिङको अनुगमन गर्न पुगेका मन्त्री यादवले सरकारले अनुदानमा रकम दिँदा पनि मेयर साम्पाङले सो अनुदान रकम नलिनुको जनताको लागि गलत भएको बताउँदै धरानमा एडिबीको सहयोगमा बनेको सडकमा किन हिँडेको भन्दै मेयर साम्पाङलाई प्रश्न गरेका हुन् ।
‘सरकारले पैसा कहाँबाट ल्यायो भन्ने कुरा मेयरलाई किन चिन्ता भयो । सरकारले अनुदानमा दिइसकेपछि त लिनुप¥यो नि ? अनुदान नलिने रे त्यसो हो भने धरानको सडक पनि एडिबीको सहयोगबाट बनेको हो । किन सडकमा हिँडेको, उडेर हिड्नुपर्यो नि ? मन्त्री यादवले भने। ’
यस्तै उनले धरानका मेयर हर्क साम्पाङलाई अब पानीको मुद्दाले चुनाव जित्न गाह्रो हुने बताएका छन् । ‘अहिले जनता चलाख भैसकेका छन् । एक पटक तपाई टिकटक, फेसबुकको माध्यमले नाटक गरेर जित्न सक्नुहुन्छ । तर दोस्रो काल जित्नको लागि के छ उहाँको एजेन्डा ल भन्नुस्,’ मन्त्री यादवले भने ‘पहिलो पटक उहाँ पानीको मुद्दाले जित्नुभएको हो । अब पानीको समस्या नेपाल सरकारले पुरा गरिदिँदै छ । त्यसैले अब उहाँको मुद्दा पानी पनि छैन त्यस कारण अब चुनाव जित्न गाह्रो छ ।’
खानेपानीको समस्या बुझ्न आफै केही दिन अघि धरानमै पुगेर त्यहाँको समस्याको बारेमा बुझेको र सरकारले सोही अनुसार काम पनि गरिरहेको मन्त्री यादवले बताए ।