काठमाडौँ । अब विभिन्न आरोपमा पक्राउ परेका व्यक्तिहरूको फोटो तथा भिडिओ सार्वजनिक नहुने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (५ साउन) आफू मातहतका जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको हो ।
अबदेखि आरोपीलाई समेत प्रेस मिटहरूमा सार्वजनिक नगर्ने निर्णय भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए।
यसअघि महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा कुनै पनि कसुरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आरोपी सार्वजनिक नगर्न परिपत्र गरिएको डीआईजी घिमिरेले बताए ।
घटनाका आरोपी सार्वजनिक गर्नै पर्ने अवस्था आएमा भने प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको स्वीकृतिपछि मात्र सार्वजनिक गर्न सकिने जानकारी उनले दिए ।
नेपाल प्रहरीको साइबर ब्युरोले भने यसअघि देखि नै आरोपीको फोटो तथा भिडिओ सार्वजनिक नगर्ने अभ्यास अपनाउँदै आइरहेको छ ।