काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)टोली लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो केवल एक ग्राफिक चिह्न मात्र नभई यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सले जनाएको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जिसीले लोगोले मैदानमा टिमको शक्ति मात्रै होइन, गौरव पनि झल्काउने बताए । नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थापना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ ।
यस्तै सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गरेको छ । २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको जनाएको छ । लुम्बिनीले एनपीएलको दोस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको छ । लुम्बिनीले मार्की खेलाडी रोहित पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई रिटेन गरेको छ । यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकाश आग्री र आरिफ खानलाई भने रिलिज गरेको छ ।