काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागबाट यही साउन ३, ४ र ५ गते देशभर अत्याधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदानप्रदान गर्ने सम्झौता अनुसार विभागले यस सम्बन्धमा इप्पानलाई पूर्वतयारीका लागि निरन्तर सूचना आदान प्रदान गर्दै आएको छ।
विभागका अनुसार साउन ३ गते साँझदेखि ४ गते बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुनेछ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई लगायतका नदीहरूमा बाढी आउन सक्ने सम्भावना अत्यधिक छ। कोशी नदी सतर्कता तह नजिक वा पार गर्न सक्ने स्थितिमा पुग्न सक्नेछ।
पूर्वी नेपालबाट सक्रिय हुने मौसमी प्रणाली पश्चिम नेपालतर्फ अघि बढ्नेछ। ४ गते बेलुका बागमती नदीमा बाढी आई काठमाडौं उपत्यका र तल्ला तटीय क्षेत्र प्रभावित हुनेछन् भने ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यसको तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना उच्च रहेको छ।
यसपटकको मौसमी प्रणालीले मध्य नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पर्नेछ। जसले नारायणी जलाधारको मध्य पहाडदेखि तल्लो तटसम्मलाई प्रभावित गर्नेछ। पश्चिममा राप्ती र बबई क्षेत्रमा पनि मध्यम स्तरको प्रभाव पर्ने सम्भावना छ भने महाकाली क्षेत्रमा श्रावण ४ गते बेलुकादेखि ५ गते मध्यान्हसम्म बढी सतर्कता अपनाउनु आवश्यक रहेको जल तथा मौसम विज्ञान विभागलाई उदृत गर्दै इप्पानले जानकारी दिएको छ।
मौसम सम्बन्धी पूर्वसूचनाहरू लिएर इप्पानमा आवद्धसहित देशभरका सम्पूर्ण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूलाई विपदबाट हुन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारीका कार्य अघि बढाउन इप्पानले आग्रह गरेको छ।