काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने प्रक्षेपण गरिएको हो ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सन्जिव अधिकारीका अनुसार आज र भोलि दिउँसोसम्म अवस्था सामान्य नै रहे पनि पर्सिदेखि मनसुन सक्रिय हुने सम्भावना छ । पानी पार्ने प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै जाने र देशभर वर्षाको मात्रा बढ्ने पूर्वानुमान गरिएको छ ।
यसअघि बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय प्रणाली भारतको उडिसा हुँदै नेपालतर्फ सरिरहेको थियो । त्यसको प्रभावले सुक्खाको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा पनि राम्रै वर्षा गराउने पूर्वानुमान गरिएको थियो ।
वर्षाको मात्रा बढ्दा बाढी पनि आउन सक्ने भन्दै मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहितका ३६ जिल्लामा बाढीको मध्यम जोखिम हुनसक्ने भनेर ‘एलो अलर्ट’ जारी गरेको थियो । तर त्यो प्रणाली मध्य बिहार हुँदै भारतको इलाहाबादतर्फ गएको थियो ।
त्यसको बादलको बाहिरी घेराले मात्र छोएकाले तराई मधेशका केही जिल्लामा हल्का मात्र वर्षा गराएको थियो । केही गाउँमा भने बादल मात्र लागेको थियो । अहिलेको नयाँ प्रणाली भने अलि शक्तिशाली हुने अनुमान मौसमविदले गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल पनि शनिबार दिउँसोसम्म नेपालका केही ठाउँमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने तर शनिबार रातिदेखि पूर्वी नेपालबाट भारी वर्षा सुरु हुने बताउँछन् ।