जनकपुरधाम। मधेश प्रदेशको विद्यमान खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारले संयुक्त अभियान सञ्चालन गर्ने सहमति गर्ने भएको छ।
मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ताको क्रममा यो सहमति भएको हो ।
खानेपानी संकट अन्त्यका लागि संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई एकसाथ परिचालन गर्दै सक्रिय रूपले काम थालिएको छ ।
उपलब्ध साधनस्रोतको अधिकतम् उपयोग गरी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरू तत्काल कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
जनताले भोगिरहेको खानेपानी संकटका बेला दुवै तहका सरकार जनतासँगै रहेको अनुभूति दिलाउने गरी काम गर्न सरोकारवाला मन्त्रालय र निकायहरूलाई निर्देशन दिइएको छ।