काठमाडौँ । आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भैरहवाका युवा अजयकुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् । सिद्धार्थनगर नगरपालिका-३ का गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका हुन् ।
विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा रहेर राजनीति गरेका गुप्ताले आफू हाल स्वतन्त्र युवाका रूपमा उम्मेदवार हुने जानकारी दिए । उनले गत वैशाख ३० गते राप्रपा परित्याग गरेका थिए । रुपन्देही क्षेत्र नम्बर ३ का जनताले आफूलाई निर्वाचित गराउने आशा समेत लिएको उनले बताए ।
विगतमा निर्वाचित जनप्रतिनिधिले जनतामाझ गरेका वाचा काठमाडौं पुगेपछि बिर्सिएको उनको भनाइ छ । राजनीतिक नेतृत्वले ध्यान नदिएका कारण अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको गुप्ताले बताए ।२०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । ‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।
रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । यहाँ हुने उपचुनावमा नेपाली कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण, एमालेबाट खिमलाल भट्टराई, राप्रपाबाट दीपक बोहोराका छोराहरू प्रज्ज्वल र गौरव बोहोरा पनि आकांक्षी छन् ।