काठमाडौँ । राहदानी विभागले पहिलो पटक ‘सिम्यान्स अभिलेख किताब’ जारी गरेको छ। बुधबार विभागले इलामका अमित कुमार सिंहलाई उक्त किताब हस्तान्तरण गर्दै यसको सुरुवात गरेको हो।
यससँगै पानीजहाजमा काम गर्ने नेपालीहरूले विदेशबाट सिम्यान्स बुक लिनुपर्ने बाध्यता अन्त्य भएको छ। विभागका अनुसार, इलामको सूर्योदय नगरपालिका वडा नं. ४, श्रीअन्तु स्थायी घर भएका सिंह डेल्टा कोर्प सिप म्यानेजमेन्ट डीएमसीसीओ कम्पनीमा कार्यरत छन्। उनले विभागबाट नेपालको पहिलो सिम्यान्स अभिलेख किताब प्राप्त गरेका हुन्।
यसअघि नेपालमा यो किताब उपलब्ध नहुँदा पानीजहाजमा काम गर्ने नेपालीहरूले अन्य देशबाट लिनुपर्ने बाध्यता थियो। विभागको विज्ञप्तिअनुसार, यसरी लिइएका किताबलाई कतिपय मुलुकले मान्यता नदिने, पानीजहाज किनारामा रोकिँदा बाहिर निस्कन नपाउने र रोजगारी पाउनसमेत कठिनाइ हुने गरेको थियो। सेवाग्राही सिंहले पनि यस्तै समस्या भोग्नुपरेको बताए।
