काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनामा पुगेको क्षति बारे जानकारी गराएका छन् । मंगलबार आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै शाक्यले भोटेकोशी नदीमा बाढी आउदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको जानकारी दिए ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको बताए । यस्तै उनले सय दिनका उपलब्धि सुनाउँदै उनले डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुलसम्बन्धी विवाद चाँडै समाधान हुने बताएका छन्।
लामो समयदेखि अन्यौलमा रहेको उक्त विवाद समाधानको बाटोमा प्रवेश गरिसकेको जानकारी दिए। उनका अनुसार सञ्चालक समितिबाट पुनरावलोकनको म्याद, धरौटी रकममा संशोधन तथा पुनरावलोकन समितिको अध्यक्षको नियुक्ति सम्बन्धी नीतिगत निर्णयहरू भइसकेका छन्। हालसम्म ४६ वटा पुनरावलोकनका निवेदन प्राप्त भइसकेको छ र ती निवेदनहरूको अध्ययन तथा मूल्यांकन कार्य पुनरावलोकन समितिबाट जारी रहेको शाक्यले जानकारी दिए।