काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् ।
आफ्नो जन्मदिनको अवसरमा निर्मल निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहले सो कुरा बताएका हुन् ।उनले अहिलेको समय वर्षाको समय भएकाले यो बेला बाढी, पहिरो डुबानजस्ता समस्या हुनेमा सचेत गराए ।
उनले भने, ‘यो बेला पानीजन्य बिमारीहरू पनि हुन्छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र विचार गरेर बस्नु मेरो आग्रह छ ।’उनले नेपालमा जन्मेर मात्र नेपाली हुन नसक्ने बताउँदै भने, ‘हामीभित्र नेपाल हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ ।’उनले आफूसँगै जन्मदिन पर्ने सबैलाई शुभकामना पनि दिए ।
पूर्वराजाले भने, ‘आज हाम्रो जस्तै कति जनाको शुभ दिन होला । वहाँहरूलाई मेरो तर्फबाट शुभकामना दिन चाहन्छु ।’ उनले आफ्नो जन्मदिनमा शुभकामना दिन आउनेलाई पनि धन्यवाद दिए ।