बुटवल। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ ।
बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले बजेट पारित गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका हुन् ।
पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ कुल बजेटको ३०.८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात कुल बजेटको ६०.३२ प्रतिशत विनियोजन गरिएको छ ।