धनगढी । कैलाली-कञ्चनपुर जिल्लामा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू-भागमा बाढीको जोखिम रहेको महाशाखाले बताएको हो ।
पछिल्लो २४ घण्टामा शान्तिपुर बेलौरी स्टेसनमा २६४.६ मिलिमिटर वर्ष मापन भएको छ । त्यस्तै, कृष्णपुर स्टेसनमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाशाखाले सोमबार बिहान ११:५० बजे एक सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान अनुरोध गरेको छ।
यस्तै धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी प्रदेश, कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
