काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानका आधारमा असार १४ गते अर्थात् आज रातिदेखि १६ गतेसम्म देशका पश्चिमी प्रदेशहरूमा अत्यधिक वर्षा हुने सम्भावना देखिएको छ।
यस सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गर्दै विशेष सूचना जारी गरेको छ। प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विशेष गरी लुम्बिनीको बर्दिया, बाँके र दाङ, कर्णालीको सुर्खेत, दैलेख र सल्यान। सुदूरपश्चिमको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्ला प्रभावित हुने उल्लेख गरिएको छ।
भारी वर्षाको कारण पहिरो, बाढी, डुबान तथा गहिरो जमिन धस्ने घटनाको उच्च जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
अत्यावश्यकबाहेक अन्य यात्रामा नगर्नु, मौसमसम्बन्धी जानकारी नियमित रूपमा प्राप्त गर्नु, नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउनु, जोखिमयुक्त क्षेत्रमा स्थायी वा अस्थायी संरचना निर्माण नगर्नु र स्थानीय विपद् व्यवस्थापन समिति र सुरक्षा समितिलाई सक्रिय राख्नुपर्ने अपिलसँगै प्राधिकरणका प्रवक्ता सुरेश सुनारद्वारा हस्ताक्षरित सूचनामा स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति तथा नागरिक स्तरका संस्थाहरूलाई उच्च सतर्कता र समन्वयमा रहन विशेष आग्रह गरिएको छ।
