काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी नगरपालिका- २ दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सनमा फसेको यात्रुवाहक बसका सबै २४ यात्रुको सकुशल उद्धार गरिएको छ।
गए राति करिब पौने १२ बजे नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको मे १ ख ४०८५ नम्बरको बस खोलाको बीचमा बाढीले घेरेपछि जोखिममा परेको थियो ।
घटनापछि प्रहरीको टोलीले एक्स्काभेटरको प्रयोग गरी मध्यरातमै उद्धार कार्य गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। उद्धारमा करिब डेढ सय सुरक्षाकर्मी परिचालित थिए ।
प्रहरीका अनुसार यात्रुहरूलाई सकुशल बाहिर निकालिए पनि बस भने हालसम्म खोलामै रहेको छ।खोलामा आएको आकस्मिक बाढीका कारण यातायात अवरुद्ध भएको जनाइएको छ।