काठमाडौं । नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारलाई हटाउन दिएको आदेश प्रेस स्वतन्त्रता र संविधानको मर्मविपरीत भएको जनाएको छ ।
महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा अदालतले समाचार हटाउन दिएको अल्पकालीन अन्तरिम आदेशप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै दिएको आदेशमा महासंघले संविधानविपरीत भएको उल्लेख गरेको हो ।
सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारका विषयमा चित्त नबुझेमा पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको उल्लेख गर्दै अदालतले क्षेत्राधिकारलाई नजरअन्दाज गर्दै आदेश गरेको महासंघले ठहर गरेको छ ।महासंघले अदालतलाई उक्त आदेशबारे पुनर्विचार गर्न आग्रह पनि गरेको छ ।
